शीर्षकहरू

अधिक तरलता घटाउन राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ झिक्ने

अधिक तरलता घटाउन राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ झिक्ने

काठमाडौँ। बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ झिक्ने भएको छ। निक्षेप संकलन उपकरणमार्फत ३९ दिनका लागि उक्त रकम बजारबाट तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अत्यधिक भएपछि केन्द्रीय बैंकले नियमित रूपमा तरलता नियन्त्रणका उपाय अवलम्बन गर्दै आएको छ। पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले हरेक साताको आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन्।

यसमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न पाइने व्यवस्था गरिएको छ। ब्याजदरका आधारमा प्रतिस्पर्धात्मक बोलकबोल गर्नुपर्ने र बहुब्याजदरमा पनि प्रस्ताव दिन सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यसरी संकलन गरेको निक्षेप उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरेको छ।

प्रतिक्रिया