शीर्षकहरू

अमेरिकाको निष्कर्ष: नेपाल यात्रा सुरक्षित, तर सतर्कता अझै अनिवार्य

अमेरिकाको निष्कर्ष: नेपाल यात्रा सुरक्षित, तर सतर्कता अझै अनिवार्य

काठमाडौँ। अमेरिकाले नेपालका लागि जारी गरेको ट्राभल एड्भाइजरी घटाउँदै ‘लेभल २’ मा झारेको छ। यससँगै अमेरिकी नागरिकलाई ‘सतर्कता अपनाउँदै यात्रा गर्न सकिने’ सन्देश दिइएको छ।

यसअघि गत सेप्टेम्बर २०२५ मा सुरु भएको जेनजी आन्दोलनपछि अमेरिकाले नेपाललाई ‘लेभल ३’ मा राखेको थियो, जसको अर्थ ‘यात्रा गर्नुअघि पुनर्विचार गर्नुपर्ने’ हुन्छ। अहिले अवस्था सुधारिएको ठहर गर्दै स्तर घटाइएको हो।

अमेरिकी विदेश विभागले जारी गरेको अद्यावधिक निर्देशनमा राष्ट्रव्यापी प्रदर्शनहरू रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ। तर, विशेषगरी सहर क्षेत्रमा आकस्मिक प्रदर्शन हुन सक्ने र ती छिट्टै गम्भीर बन्न सक्ने चेतावनी पनि दिइएको छ।

निर्देशनमा ठूलो भीडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। आकस्मिक रूपमा प्रदर्शन सुरु हुन सक्ने भएकाले यात्रुहरूलाई सतर्क रहन भनिएको छ।

स्वास्थ्य सेवातर्फ काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रको तुलनामा राम्रो भए पनि सीमितता रहेको उल्लेख छ। उपचारअघि भुक्तानी मागिन सक्ने, भीडभाड हुने तथा उपकरण र औषधिको अभाव हुन सक्ने भन्दै यात्रुहरूलाई स्वास्थ्य बीमा गर्न, आवश्यक औषधि साथमा ल्याउन र मेडिकल इभ्याकुएसनसमेत समेटिएको बीमा लिन सुझाव दिइएको छ।

गम्भीर स्वास्थ्य समस्या परेमा अन्य देशमा उपचारका लागि जानुपर्ने अवस्था आउन सक्ने विषय पनि ध्यानमा राख्न भनिएको छ।

त्यस्तै, नेपालमा भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम रहेको उल्लेख गर्दै विशेषगरी मनसुन (जुनदेखि सेप्टेम्बर) अवधिमा यात्रा गर्दा मौसमसम्बन्धी जानकारी लिएर मात्रै योजना बनाउन सल्लाह दिइएको छ।

अमेरिकाले आफ्ना नागरिकलाई ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’मा दर्ता गर्न, स्थानीय समाचारमा नजर राख्न र सुरक्षा अवस्थाबारे अद्यावधिक जानकारी लिन पनि आग्रह गरेको छ।

 

प्रतिक्रिया