शीर्षकहरू

मालपोतका ४ अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मालपोतका ४ अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्सामा भएको ठूलो राजस्व हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालयको रजिष्ट्रेशन फाँट “ग” बाट उठेको राजस्वमध्ये करिब २ करोड ९३ लाख ६८ हजार रुपैयाँ हिनामिना गरिएको पाइएको छ। अनुसन्धानका क्रममा एउटै रजिष्ट्रेशन नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रूपमा लिखत पारित गर्ने, कम रकम भएका लिखत मात्र लेखा फाँटमा बुझाउने र बढी रकम भएका लिखत लुकाउनेजस्ता अनियमितता गरिएको खुलेको हो। साथै, केही लिखतको रकम बैंक दाखिला नगरी आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी राजस्व अपचलन गरिएको आयोगले जनाएको छ।

यस प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल र सुरेन्द्र प्रसाद राव कुर्मीविरुद्ध फरक–फरक बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र दोब्बर जरिवानाको मागदाबी गरिएको छ।

यस्तै, तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायको निधन भइसकेको भए पनि कानुनी प्रावधानअनुसार उनको हकमा भएको बिगो असुल गर्न उनका अंशियार छोराहरूलाई प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सरकारी राजस्वमा क्षति पुर्‍याउने यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही अघि बढाइएको उल्लेख गरिएको छ।

प्रतिक्रिया