काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने वस्तु तथा सेवामा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न र बिलबिजक अनिवार्य रूपमा जारी गर्न निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको उपभोक्ताको मौलिक हक कार्यान्वयनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको हो। सो ऐनअनुसार बजारमा बिक्री हुने वस्तुमा सबै प्रकारका कर समावेश गरी एमआरपी उल्लेख गर्नुपर्नेछ।
सूचनामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावटसम्बन्धी गलत सूचना दिन नपाइने, झुटा वा भ्रामक विज्ञापन गर्न नहुने र कमसल तथा नक्कली वस्तुको बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको छ।
यस्तै, विक्रेता तथा सेवा प्रदायकले वस्तु बिक्री वा सेवा प्रदान गरेपछि अनिवार्य रूपमा बिल वा रसिद उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ। उत्पादन, पैठारी, ढुवानी, सञ्चय तथा बिक्री वितरणमा संलग्न सबै पक्षले कारोबारस्थलमै बिलबिजक राख्नुपर्ने र उपभोक्ताले सेवा उपयोगपछि बिल लिन/दिनुपर्ने व्यवस्था पनि अनिवार्य गरिएको छ।
विभागले उक्त निर्देशनको अवज्ञा गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै उपभोक्तालाई सचेत रहन र अनियमितता देखिएमा जानकारी गराउन आग्रह गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया