शीर्षकहरू

मालपोत–नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण निषेध

मालपोत–नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण निषेध

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयमा अनधिकृत व्यक्ति वा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। मन्त्री प्रतिभा रावलको निर्देशनअनुसार सचिवस्तरीय निर्णयमार्फत कार्यालयमा परिचय खुल्ने कागजात भएका मात्र प्रवेश पाउने व्यवस्था मिलाइनेछ।

यस कदमको उद्देश्य संवेदनशील कागजातमा अनधिकृत पहुँच रोक्नु र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनु हो। विभिन्न बहानामा बिचौलियाहरू कार्यालयमा प्रवेश गरी महत्वपूर्ण कागजातमा पहुँच राख्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको हो।

अब कार्यालयमा प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र वा सम्बन्धित कागजात देखाउनुपर्ने व्यवस्था लागू हुनेछ। यदि कार्यालयमा भिडभाड वा कागजातको सुरक्षामा समस्या देखिएमा अनधिकृत प्रवेश रोक्न नसकेका कार्यालय प्रमुख जिम्मेवार हुनेछन्। 

यससँगै सेवा प्रवाह प्रभावकारी र गुणस्तरीय बनाउन अनावश्यक भिडभाड रोकिनेछ। सेवाग्राहीले निवेदन वा कागजात देखाएर सहज सेवा पाउने व्यवस्था गरिनेछ। 
कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन हुने र आवश्यकता परेमा कारबाही हुने मन्त्रालयले स्पष्ट गरेको छ।

प्रतिक्रिया