शीर्षकहरू

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यापारी दीपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यापारी दीपक भट्ट पक्राउ

काठमाडौँ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बिहीबार नक्सालबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत गरेको थियो।

भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

को हुन् दीपक भट्ट ?

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका व्यापारी दीपक भट्ट पछिल्लो समय सत्ता र शक्तिसँग निकट मानिने व्यवसायीका रूपमा परिचित छन्। सरकारी अभिलेखअनुसार डडेल्धुराको साविक भद्रपुर गाविस–२ (हाल अजयमेरु गाउँपालिका) मा २२ माघ २०३७ मा जन्मिएका भट्ट हाल काठमाडौँको सानेपामा बस्दै आएका छन्।

करिब डेढ दशकयता विभिन्न व्यावसायिक गतिविधिमार्फत प्रभाव विस्तार गरेका भट्टमाथि सत्तापक्ष र प्रतिपक्ष दुवैसँग निकट सम्बन्ध कायम गर्दै राज्यका विभिन्न निकायलाई प्रभावमा पार्ने प्रयास गरेको आरोप लाग्दै आएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिसम्म प्रभाव पार्न खोजेको आरोपसमेत उनीमाथि पूर्वदेखि लाग्दै आएको छ।

डडेल्धुराबाट कैलाली हुँदै काठमाडौँ आएका भट्ट अहिले इन्फिनिटी होल्डिङ्सका प्रमुखका रूपमा चिनिन्छन्। सो कम्पनीमार्फत जलविद्युत्, हेलिकोप्टर तथा अन्य विदेशी कम्पनीसँग सम्बन्धित परियोजनामा संलग्न हुँदै बिचौलियाको भूमिका खेलेको आरोप उनीमाथि छ। कम्पनीमा कार्यरत कर्मचारीहरू नै विभिन्न विदेशी कम्पनीका प्रतिनिधिका रूपमा प्रस्तुत हुने गरेको दाबीसमेत गरिएको छ।

यसका अतिरिक्त ट्राभल एजेन्सी, होटल, घरजग्गा कारोबार र परामर्श सेवामा पनि भट्टको संलग्नता रहेको बताइन्छ। बीमा र लघुवित्त क्षेत्रमा समेत उनको प्रत्यक्ष वा परोक्ष सम्बन्ध रहेको देखिएको छ।

यिनै गतिविधिका आधारमा सरकारका सम्बन्धित निकायले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विस्तृत अनुसन्धान अघि बढाएका हुन्। अनुसन्धानकै क्रममा अध्यागमन विभागले उनलाई कालोसूचीमा राख्दै पासपोर्ट नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया