काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना प्रकरणमा चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित उक्त वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री तथा सदस्य हरि प्रसाद अधिकारीले आपसी मिलेमतोमा समितिको रकम दुरुपयोग गरेको ठहर गर्दै मुद्दा दायर गरिएको हो।
अनुसन्धानबाट उनीहरूले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा कार्ययोजना बिना, समितिको निर्णयबिनै र बिल–भरपाई नभई खर्च देखाउँदै नक्कली कागजात तयार गरी रकम हिनामिना गरेको खुलेको आयोगले जनाएको छ। काठ बिक्रीबाट आएको रकम खातामा दाखिला नगर्ने, लेखापरीक्षण नभएको अवस्थामा शुल्क भुक्तानी देखाउने तथा नर्सरी व्यवस्थापनलगायतका शीर्षकमा प्रमाणबिनै खर्च देखाइएको पनि अनुसन्धानबाट पुष्टि भएको छ।
त्यस्तै, वन मुद्दासम्बन्धी कार्यमा अधिवक्तालाई तीन लाख रुपैयाँ भुक्तानी गरिएको देखाई कोषको रकम दुरुपयोग गरिएको, मुद्दा तथा साक्षी खर्चका नाममा थप रकम खर्च गरिएको तथा व्यक्तिगत प्रयोजनमा समेत समितिको रकम प्रयोग गरिएको आयोगको आरोप छ।
उक्त प्रकरणमा जम्मा १२ लाख १८ हजार ५१२ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ। सोही बिगो असुल उपर गराउने, कैद तथा जरिवानासहितको सजाय माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
यसैगरी, दर्तावाल लेखापरीक्षक ज्ञानेन्द्र बहादुर के.सी. विरुद्ध समेत छुट्टै कसुरमा कारबाहीको माग गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया