काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले घटेको बजारमा यस दिन हल्का सुधार देखिएको हो।
नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको छ। फ्लोट इन्डेक्स ०.०१ अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेका छन्।
यद्यपि, बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन १२ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३२८ कम्पनीका १ लाख ३ हजार २२५ पटकका कारोबारमार्फत ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरका २ करोड १३ लाख कित्ता शेयर किनबेच भएका छन्।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ७ उपसमूहका सूचक बढेका छन् भने ६ घटेका छन्। व्यापार उपसमूह २.५३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह १.७६ प्रतिशतले उकालो लागेको छ। बैंकिङ, वित्त, बीमा र लघुवित्तलगायत उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।
यस दिन पनि ६ कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार भएका छन्। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनका शेयर उच्च दरमा बढेका हुन्।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७.५ प्रतिशत र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने ३.०६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहँदा ङादी ग्रुप पावर र हिमालयन रि इन्स्योरेन्स पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया