काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपाल भित्रने रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि भएको छ । चालु आवको साउन देखि फागुन मसान्तसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत आवको सोही अवधिमा अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो । २०८२ फागुन महिनामा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । गत वर्ष यस्तो रेमिट्यान्स ७.१ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । गते वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया