काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य दरले बढिरहँदा निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत सुस्त देखिएको छ । पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीमा तरलता बढे पनि कर्जा प्रवाहमा अपेक्षित गति नआएको संकेत गरेको हो।
चालु आर्थिक वर्षको फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६ प्रतिशत (४ खर्ब ८२ अर्ब १ करोड रुपैयाँ) ले बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धि ४.३ प्रतिशत मात्रै थियो। वार्षिक विन्दुगत आधारमा भने निक्षेप १५.१ प्रतिशतले बढेको छ।
यता, निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत (२ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ) ले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ६ प्रतिशत रहेको थियो। वार्षिक आधारमा कर्जा वृद्धि दर ६.७ प्रतिशत मात्रै छ।
निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर देखिनुले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने र कर्जा माग अपेक्षाकृत कम रहेको अवस्था झल्किएको छ। यसले समग्र आर्थिक गतिविधि अझै सुस्त रहेको संकेतसमेत गरेको छ।
कुन क्षेत्रमा कति गयो कर्जा ?
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ ।
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६५.२ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.० प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेकोछ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा २३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.१ प्रतिशत, हायर पर्चेज कर्जा ८.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, आवधिक कर्जा ३.२ प्रतिशत र क्यास क्रेडिट कर्जा १.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २.७ प्रतिशतले घटेको छ ।
निक्षेप ६.६ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ६.६ प्रतिशत (४ खर्ब ८२ अर्ब १ करोड) ले वृद्धि भई ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.३ प्रतिशत (२ खर्ब ७७ अर्ब २३ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.१ प्रतिशतले बढेकोछ ।
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.६ प्रतिशत, ४४.१ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३५.४ प्रतिशत र ५१.७ प्रतिशत रहेको थियो।
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३५.४ प्रतिशत रहेको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया