शीर्षकहरू

साइबर जोखिम बढ्दै जाँदा बैंकर्स संघको देशव्यापी सचेतना अभियान

साइबर जोखिम बढ्दै जाँदा बैंकर्स संघको देशव्यापी सचेतना अभियान

काठमाडौँ। डिजिटल बैंकिङ सेवाको विस्तारसँगै साइबर जोखिम र अनलाइन ठगीका घटना बढ्न थालेपछि नेपाल बैंकर्स संघले देशव्यापी सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। संघले साझेदार संस्थासँगको सहकार्यमा सातै प्रदेशमा साइबर सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

फागुन–चैत २०८२ अवधिमा सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढ बनाउनु रहेको संघले जनाएको छ। पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएका डिजिटल फ्रड, अनलाइन ठगी तथा साइबर जोखिमका चुनौतीलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।

प्रदेशस्तरीय अन्तरक्रियामा साइबर जोखिमको पहिचान, डिजिटल ठगीका नयाँ प्रवृत्ति तथा जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो। साथै बैंकिङ प्रणालीमा सुरक्षित अभ्यास अवलम्बन गर्ने, सम्भावित जोखिमबाट बच्न अपनाउनुपर्ने सावधानी तथा ग्राहकलाई निरन्तर सचेत गराउने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रममा सातै प्रदेशबाट प्रदेश प्रमुख, शाखा प्रबन्धकसहित विभिन्न तहका ३०० भन्दा बढी बैंककर्मीको सहभागिता रहेको थियो। यस्तो कार्यक्रमले वित्तीय प्रणालीलाई थप सुरक्षित र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास संघले लिएको छ।

संघले आगामी दिनमा पनि साझेदार संस्थासँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया