काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशको कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
यो सञ्चितिले बैंकिङ क्षेत्रको हालको आयात क्षमताअनुसार १८.५ महिनासम्मका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। केवल वस्तु आयातलाई आधार मानेमा यो सञ्चिति २१.४ महिनासम्मको आवश्यकतालाई धान्न सक्छ।
डलरमा गणना गर्दा २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति १८.३ प्रतिशत बढेर फागुन मसान्तमा २३ अर्ब ८ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७८ अर्ब ६६ करोड सञ्चिति रहेको छ।
समीक्षा अवधिमा भारतीय मुद्राको हिस्सा कुल सञ्चितिमा २१ प्रतिशत रहेको छ। त्यस्तै, विप्रेषण आय ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जसले पनि विदेशी मुद्रा सञ्चिति बलियो बनाउन सहयोग गरेको देखिन्छ।
विदेशी मुद्रा सञ्चितिमा आएको यो सकारात्मक सुधारले देशको आर्थिक स्थिरता र बाह्य क्षेत्र सन्तुलनमा राहत पुगेको राष्ट्र बैंकले जनाएको छ।
चालु खाता र शोधनान्तर स्थिति मजबुत, बचतमा उल्लेखनीय वृद्धि
नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै मजबुत बनेको देखिन्छ। फागुन मसान्तसम्मको तथ्यांकअनुसार चालु खाता ५५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १९७ अर्ब ३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
अमेरिकी डलरमा पनि चालु खाता ३ अर्ब ८८ करोड डलरले बचतमा रहेको छ, अघिल्लो वर्षको १ अर्ब ४६ करोड डलरसँग तुलना गर्दा बढोत्तरी देखिन्छ।
शोधनान्तर स्थिति पनि ६५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, अघिल्लो वर्षको ३१० अर्ब ३७ करोडको तुलनामा करिब दुई गुणाले वृद्धि भएको देखिन्छ। अमेरिकी डलरमा शोधनान्तर स्थिति ४ अर्ब ६१ करोड डलर रहेको छ, अघिल्लो वर्षको २ अर्ब २९ करोड डलरसँग तुलना गर्दा उल्लेखनीय सुधार देखिन्छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ, अघिल्लो वर्षको ६ अर्ब ४१ करोडको तुलनामा लगभग दोब्बर वृद्धि भएको छ। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ४७ करोडको तुलनामा बढेको हो।
यो तथ्यांकले नेपालको वैदेशिक क्षेत्रीय स्थिति मजबुत र आर्थिक स्थिरतामा सकारात्मक संकेत दिएको विश्लेषकहरूले बताएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया