काठमाडौं । ग्राहकको सेवा अनुभव अझ प्रभावकारी बनाउने उद्देश्यका साथ मेटलाइफ नेपालले आफ्नो ‘वान बाई मेटलाइफ’ मोबाइल एपमा नयाँ अपडेट सार्वजनिक गरेको छ। यस अपडेटमार्फत दीर्घकालीन रगतमा चिनीको मात्रा (HbA1c) आधारित स्वास्थ्य जोखिम मूल्यांकन सुविधा थप गरिएको छ। साथै, प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य जानकारी र बीमा सम्बन्धी सेवाहरू सजिलै व्यवस्थापन गर्न थप डिजिटल सुविधाहरू पनि विस्तार गरिएको छ।
नेपालमा अझै पनि धेरै मानिसले आधारभूत स्वास्थ्य जानकारी लिन वा बीमा सम्बन्धी काम पूरा गर्न विभिन्न एप, उपकरण वा कार्यालयमा जानुपर्ने बाध्यता छ। ‘वान बाई मेटलाइफ’ एपले यी सबै सेवाहरू एउटै मोबाइल प्लेटफर्ममा उपलब्ध गराउँदै प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउने लक्ष्य राखेको छ।
नयाँ स्वास्थ्य जोखिम मूल्यांकन सुविधाले प्रयोगकर्तालाई दीर्घकालीन रूपमा रगतमा चिनीको अवस्थाबारे बुझ्न मद्दत गर्छ। एपमा प्रविष्ट गरिएको जानकारीका आधारमा प्रयोगकर्ताले आफ्नो सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी प्राप्त गर्न सक्छन्। यो सुविधा विशेषगरी आफ्नो स्वास्थ्य र जीवनशैलीबारे पहिल्यै जानकारी लिन चाहने व्यक्तिहरूका लागि उपयोगी हुने बताइएको छ।
स्वास्थ्य सेवासँगै एपमा अन्य सुविधाहरू पनि थप सुधार गरिएको छ। प्रयोगकर्ताले अफलाइन नोटिफिकेसन प्राप्त गर्न, सुधारिएको प्रिमियम क्याल्कुलेटर प्रयोग गर्न तथा भुक्तानी रिमाइन्डरहरू पाउन सक्छन्। साथै, एपमार्फत बीमा दाबी (क्लेम) सुरु गर्न, व्यक्तिगत विवरण अपडेट गर्न र पोलिसी पुनःसक्रिय गर्ने सम्बन्धी जानकारी लिन सकिनेछ, जसले शाखा कार्यालय धाउनुपर्ने झन्झट कम गर्नेछ।
यस अपडेटबारे बोल्दै मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल श्रेष्ठले भने, “वान बाई मेटलाइफ एप दैनिक जीवनमा स्वास्थ्य र बीमा व्यवस्थापनलाई सरल बनाउने गरी डिजाइन गरिएको हो। यस अपडेटमार्फत हामीले रगतमा चिनीको मात्रा मूल्यांकनजस्ता डिजिटल स्वास्थ्य जानकारी र आवश्यक बीमा सेवाहरू एउटै प्लेटफर्ममा समेटेका छौँ। हाम्रो उद्देश्य नेपाली नागरिक र परिवारलाई अझ सजिलो, जानकारीयुक्त र सुरक्षित बनाउनु हो।”
आर्थिकन्यूज
प्रतिक्रिया