शीर्षकहरू

राजस्व चुहावट नियन्त्रण चुस्त बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

राजस्व चुहावट नियन्त्रण चुस्त बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौँ । राजस्व चुहावट नियन्त्रण चुस्त बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् । बिहीबार अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा उनले एक निकायले अर्को निकायलाई पन्छाउने र दोष दिने प्रवृत्ति बन्द गर्न भनेका छन् । 

बैठकमा वाग्लेले राजस्व चुहावट नियन्त्रणका समस्याहरु समाधानका लागि समयसीमासहितको जिम्मेवारी तोकी विशेष कार्ययोजना बनाएर तत्काल काममा खटिन, सबै निकायलाई साधन स्रोत सम्पन्न बनाउन, नाकाहरुमा थप पूर्वाधार र उपकरणहरुको प्रबन्ध गर्नेलगायतका विषयमा निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले ठूला काम तथा घटनाहरु व्यवस्थापन गर्न सक्षम ठहरिएको प्रशासन नियमित प्रकृतिका कामहरुमा सफल हुन नसक्नाको एक मात्र कारण मिसन मोडेलमा काम नगर्ने प्रवृत्ति रहेको बताए । 

अबका नियमित प्रकृतिका कामहरु कार्ययोजनामा गर्न, राजस्व वृद्धिका लागि सरकारले राजस्वको दर घटाउने र दायरा बढाउने नीति अवलम्बन गर्ने र प्रणालीगत सुधारमा केन्द्रित हुने सरकारको स्पष्ट मार्गचित्र रहेको उनले बताए । 'करपरिपालनाको वातावरण निर्माण गर्दै तस्करीमा आबद्ध व्यक्ति, समूह वा वर्गलाई राज्यका नीतिहरुमार्फत स्वरोजगारी र उद्यमशीलतातर्फ ल्याउने वातावरण निर्माण गरिनेछ,’ उनले भने ।

बैठकले राजस्व चुहावट नियन्त्रणका लागि निकायगत जिम्मेवारी यकीन गरी कार्ययोजना तयार गरी आजैका मितिदेखि प्रदर्शनीय कार्य नतिजामा जाने, ननफाइलर करदाताको संख्या घटाउने, बक्यौता असुली र बेरुजु फर्छौटमा नतिजा देखिने गरी काम गर्ने, कर विवादसँग सम्बन्धित विषयहरु यथाशीघ्र टुंग्याउने, राजस्व चुहावट नियन्त्रणमा संलग्न निकाय तथा जनशक्तिहरुको क्षमता विकासमा जोड दिने र प्रणालीगत सुधारलाई निरन्तरता दिने लगायतका निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभाका सदस्य सुशील खड्का, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ सचिव, राजस्व सचिव, सशस्त्र प्रहरी बल नेपाल प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत,  नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलगायतका महानुभावहरुको उपस्थिति थियो ।

प्रतिक्रिया