काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले व्यक्त गरेको विचारलाई लिएर पार्टीभित्र हलचल पैदा भएको छ।
पार्टीका शीर्ष नेताहरूले बादलको अभिव्यक्ति एमालेको आधिकारिक नीति, सिद्धान्त र जनताको बहुदलीय जनवाद ९जबज० विपरीत रहेको भन्दै सार्वजनिक असन्तुष्टि जनाएका छन्।
उपाध्यक्ष विष्णु पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै भने, “दल नेताको हैसियतले व्यक्त गरिएको विचार पार्टीका स्थापित मान्यता विपरीत छ।” पौडेलले यस विषयमा केन्द्रीय सचिवालयमा गम्भीर छलफल हुने र उचित निर्णय लिइने जानकारी दिएका छन्।
त्यस्तै, उपमहासचिव योगेश भट्टराईले पनि बादलको विचारको खण्डन गर्दै जबजको व्याख्या गरेका छन्। उनले भने, “जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु, पराजयको समीक्षा गरी कमजोरी सच्याएर पुनः जनविश्वास आर्जन गर्नु जबजको मर्म हो।”
भट्टराईले एमाले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण र वैधानिक बाटोबाट समाज रूपान्तरण गर्ने पार्टी भएको स्पष्ट पारे। उनले थपे, “एमाले आज विपक्षी दल भए पनि यो राज्य पक्षीय दल हो। सेना, प्रहरी, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको सधैं सम्मान र विश्वास रहन्छ।”
बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ आदिको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए।
आर्थिकन्यूज
प्रतिक्रिया