काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै सार्वजनिक भएका केही समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी दीपक भट्ट (नागरिकता नं १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीमार्फत ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने आशयका समाचार विभिन्न माध्यममा प्रकाशित भएका छन्।
तर कम्पनीले ती समाचारमा उल्लेख गरिएअनुसार दीपक भट्ट वा धितोपत्र दलाल नं ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिसँग आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेको छ। साथै, उक्त विषयमा कुनै कारोबारसमेत नगरेको कम्पनीले जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्सले प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गरेको छ। कम्पनीले सम्पूर्ण सरोकारवालाहरूलाई यस्ता भ्रामक समाचारप्रति सचेत रहन आग्रह गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया