काठमाडौं। शेयर बजार ओरालो लागेर साना लगानीकर्ता निराश भइरहेका बेला बैंकहरूबाट प्रवाहित शेयर धितो कर्जामा भने वृद्धि देखिएको छ। तर, त्यो कर्जाको अधिकांश हिस्सा ठूला लगानीकर्ताकै हातमा सीमित हुँदा बजारमा असन्तुलन गहिरिँदै गएको संकेत देखिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा पनि त्यसको लाभ समान रूपमा वितरण नभइरहेको देखाएको छ ।एकातर्फ ठूलो पूँजी भएका लगानीकर्ताले बैंक कर्जामार्फत बजारमा आफ्नो पकड थप बलियो बनाइरहेका छन् भने अर्कोतर्फ साना लगानीकर्ता कर्जामा पहुँच नपाउँदा बजारको जोखिम र उतारचढाव एक्लै वहन गर्न बाध्य छन्।
यस्तो प्रवृत्तिले शेयर बजारमा असमानता बढाउँदै लैजाने मात्र होइन, दीर्घकालीन रूपमा बजारको स्थायित्वमै प्रश्न उठाउने खतरा समेत देखाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने कर्जा (मार्जिन लोन) चालु आर्थिक वर्षमा उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार यस्तो कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ।
फागुन मसान्तसम्म बैंकहरूले कुल १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्। गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो।
आठ महिनाको अवधिमा मात्रै १५ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी कर्जा थपिँदा ११.१ प्रतिशतको वृद्धि भएको देखिएको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३१.५ प्रतिशतले बढेको तुलनामा यस वर्ष वृद्धि दर सुस्त देखिएको छ।
तथ्यांकअनुसार कर्जाको वितरण भने असन्तुलित देखिएको छ। कुल कर्जामध्ये ७० प्रतिशतभन्दा बढी हिस्सा ठूला लगानीकर्ताको नियन्त्रणमा छ। १ करोड रुपैयाँभन्दा माथिको कर्जा मात्रै १ खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
आठ महिनामा यस समूहको कर्जामा मात्रै १० अर्ब ७१ करोड रुपैयाँ थपिएको छ। यसले बजारमा उतारचढाव भइरहँदा पनि ठूला तथा संस्थागत लगानीकर्ताले बैंक कर्जामार्फत शेयर बजारमा आफ्नो उपस्थिति कायम राखिरहेको संकेत गर्छ।
अर्कोतर्फ साना लगानीकर्ताको पहुँच भने सीमित देखिन्छ। २५ लाख रुपैयाँभन्दा कम कर्जा लिने वर्गमा जम्मा ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्र प्रवाह भएको छ। यस अवधिमा यो समूहमा कर्जा वृद्धि ७.१ प्रतिशत मात्रै रहेको छ, जसले साना लगानीकर्ताको कर्जामा पहुँच अझै कमजोर रहेको देखाउँछ।
२५ लाखदेखि ५० लाखसम्मको कर्जा १९ अर्ब ६ करोड र ५० लाखदेखि १ करोडसम्मको कर्जा १८ अर्ब ८१ करोड पुगेको छ। मध्यम वर्गीय लगानीकर्तामा केही सक्रियता देखिए पनि समग्र बजारमा उनीहरूको प्रभाव सीमित नै रहेको देखिन्छ। ५० लाखदेखि १ करोडसम्मको कर्जा लिने मध्यम वर्गीय लगानीकर्ताको संख्यामा यस वर्ष १७.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ।
शेयर बजार निरन्तर ओरालो लाग्दै लगानीकर्ता निराश भइरहेका बेला बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा जाने कर्जामा भने वृद्धि देखिएको छ। तर, यस्तो कर्जाको ठूलो हिस्सा अझै ठूला लगानीकर्ताकै नियन्त्रणमा रहेको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकको तथ्यांकले बजारमा तरलता विस्तार हुँदै गएको देखाए पनि कर्जाको वितरण समानुपातिक नभएको संकेत गरेको छ। करिब ७० लाख लगानीकर्ता आबद्ध रहेको भनिएको बजारमा साना लगानीकर्ताको बैंक कर्जामा कमजोर पहुँचले नीतिगत सुधारको आवश्यकता औंल्याएको छ।
पछिल्लो एक सातामा नेप्से परिसूचक करिब १८२ अंकले घटेको भए पनि बैंकहरूको शेयर कर्जा प्रवाह भने बढ्दो क्रममा छ। यसले बजारमा पैसा प्रवेश गरिरहेको देखाए पनि त्यसको लाभ सीमित वर्गमा केन्द्रित रहेको विश्लेषण गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया