काठमाडौं । नेपाल घुम्न आउने विदेशीबाट हुने आम्दानीभन्दा विदेश जाने नेपालीले गर्ने खर्च उच्च रहँदा मुलुकको सेवा खाता घाटामा देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा खुद सेवा आय ३७ अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६१ अर्ब ७ करोड रहेको तुलनामा केही सुधार देखिएको छ।
विदेश भ्रमण, अध्ययन र उपचारका लागि बाहिरिने खर्च उच्च रहनुले सेवा खाता दबाबमा परेको हो।
समीक्षा अवधिमा भ्रमण आय २.५ प्रतिशतले घटेर ५५ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ५६ अर्ब ७८ करोड रुपैयाँ थियो।
आठ महिनामा विदेशिँदा झण्डै डेढ खर्ब बाहिरियो, अध्ययनमै ९७ अर्ब खर्च
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विदेश जाने नेपालीसँगै झण्डै डेढ खर्ब रुपैयाँ बाहिरिएको छ। राष्ट्र बैंकका अनुसार साउनदेखि फागुनसम्म नेपालीहरूले विदेश यात्रा गर्दा १ खर्ब ४५ अर्ब १२ करोड रुपैयाँ देशबाट बाहिरिएको हो।
यस अवधिमा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत मात्रै ९७ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांकले देखाउँछ। कुल बाहिरिएको रकममा शिक्षातर्फको हिस्सा उल्लेख्य रहेको छ।
यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशिने रकम १.७ प्रतिशतले घटेको छ। गत वर्ष सोही अवधिमा १ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको थियो। त्यतिबेला पनि विद्यार्थीमार्फत ८८ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको थियो।
विदेश यात्रा खर्चमा सामान्य गिरावट आए पनि अध्ययनका लागि बाहिरिने रकम उच्च रहँदा देशको विदेशी मुद्रा बाहिरिने दबाब कायम रहेको देखिन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया