काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणका लागि औपचारिक तयारी सुरु गर्दै बजेट लेखन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार राजश्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो। समितिका अन्य सदस्यहरूमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरू रहेका छन् ।
जसमा डा सुमन दाहाल हाल (बजेट तथा कार्यक्रम महाशाखा प्रमुख), डा धनीराम शर्मा हाल (अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख), महेश भट्टराई हाल (आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख) र सेवन्तक पोखरेल हाल (वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख) समितिमा रहेका छन ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने, बजेटका सिद्धान्त र प्राथमिकताहरू (Pre-Budget) निर्धारण गर्ने, विनियोजन विधेयकको मस्यौदा लेखन र आयोजनाहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने काम गर्ने छ ।
त्यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गर्ने बजेट भाषणको अन्तिम रूप तयार पार्ने काम पनि गर्ने छ । यो टोलीले मुख्यतया आगामी आर्थिक वर्षका लागि वार्षिक नीति, कार्यक्रम र कार्यान्वयन योजनामा सरकारलाई आवश्यक प्राविधिक सुझावहरू उपलब्ध गराउनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया