शीर्षकहरू

नयाँ विद्युत् नीतिमा दीर्घकालीन दृष्टि जोड्न मन्त्री श्रेष्ठको निर्देशन

नयाँ विद्युत् नीतिमा दीर्घकालीन दृष्टि जोड्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिको मस्यौदामाथि आन्तरिक छलफल सुरु गर्दै ऊर्जा क्षेत्रको समग्र सुधारलाई समेट्ने गरी नीति तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रालयमा भएको छलफलमा उनले ऊर्जा उत्पादनदेखि उपयोग, संरचनागत तथा संस्थागत सुधार र वातावरण संरक्षणसम्मका विषय समेट्नुपर्नेमा जोड दिए। ऊर्जा क्षेत्रका तथ्य र तथ्यांक स्पष्ट रूपमा प्रतिबिम्बित हुने गरी नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले नीतिको मस्यौदामाथि सरोकारवालासँग व्यापक छलफल गर्दै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपत विस्तार, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, ‘लस एन्ड ड्यामेज’ तथा कार्बन व्यापारजस्ता विषयलाई नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए।

भविष्यमा ऊर्जा क्षेत्रमा देखिन सक्ने चुनौतीलाई अहिले नै अनुमान गरी नीति निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी ऐन तथा कानुन निर्माणमा पनि विद्युत् नीतिले मार्गदर्शन गर्ने भएकाले त्यसअनुसार तयारी गर्नुपर्ने बताए।

जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासका लागि आवश्यक पुँजी परिचालनको स्पष्ट अवधारणा नीति मार्फत आउनुपर्ने र निजी क्षेत्रको भूमिका सुदृढ बनाउँदै लगानीको प्रतिफल सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।

प्रतिक्रिया