शीर्षकहरू

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा. वाग्ले, ‘काम नगर्ने छुट छैन'

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा. वाग्ले, ‘काम नगर्ने छुट छैन'

वीरगञ्ज । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारका कामलाई तीव्र गतिमा अघि बढाइरहेको दाबी गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले ‘गति र परिणाम’ दुवैमा ध्यान दिएको बताए।

प्रधानमन्त्री वालेन्द्र शाहले तय गरेको कार्यगतिलाई आधार मानेर सरकार अघि बढिरहेको उल्लेख गर्दै वाग्लेले मन्त्रालयहरूबीच नै छिटो काम गर्ने प्रतिस्पर्धा देखिएको बताए। “सरकारभित्रै कसले राम्रो र छिटो काम गर्ने भन्ने होड चलेको छ,” उनले भने।

पदभार सम्हालेदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिन प्रयासरत रहेको बताउँदै उनले पुराना नीतिगत अवरोध हटाउने काम सुरु भइसकेको जानकारी दिए। राजस्व अनुसन्धान विभाग खारेज गर्ने र केही असान्दर्भिक ऐनहरू हटाउने निर्णय त्यसकै उदाहरण भएको उनले बताए।

पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा तयार पारिएको आर्थिक सुधार प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने प्रयास भइरहेको पनि वाग्लेले उल्लेख गरे। उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले भने उद्योगमैत्री नीति अभावका कारण व्यवसायीहरू समस्यामा परेको गुनासो गरे। उनले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थका रूपमा रहेको विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन सरकारसँग आग्रह गरे।

प्रतिक्रिया