काठमाडौं। कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत २२) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन सुरु गरेको हो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण भइसकेको छ।
सर्वसाधारणका लागि कति शेयर ?
दोस्रो चरणअन्तर्गत ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा चैत २५ गते बन्द हुनेछ भने माग अनुसार नपुगेमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।
रेटिङअनुसार केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ दिएको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको उक्त आयोजनाको उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी छ।
परियोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र छुट दरमा १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया