शीर्षकहरू

शंकर ग्रुपका अध्यक्ष अग्रवाल हिरासतबाट छाडिए, अनुसन्धान जारी

शंकर ग्रुपका अध्यक्ष अग्रवाल हिरासतबाट छाडिए, अनुसन्धान जारी

काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले हिरासतबाट छाडेको छ

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई बयानको प्रक्रिया पूरा भएपछि छाडिएको पुष्टि गर्दै भने, “बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं।”

अग्रवाल केही दिनअघि मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका थिए। उनीसँगै समूहका अन्य प्रमुख व्यक्तिहरू पनि विभागको अनुसन्धानको दायरामा रहेका छन्।

शंकर अग्रवालमाथि कोरोना महामारीको समयमा कालोबजारी, कर तथा भ्याट छली, विद्युत् प्राधिकरणको बक्यौता नतिर्ने, गुणस्तरहीन वस्तु उत्पादन गरी उपभोक्तालाई ठगी गर्ने तथा फिडरलाइनसम्बन्धी अनियमिततामा संलग्न भएको आरोप छ।

अनुसन्धानको क्रममा अग्रवाल र व्यवसायी दीपक भट्टबीचको आर्थिक र व्यावसायिक सम्बन्ध पनि केन्द्रबिन्दुमा आएको छ। स्रोतका अनुसार राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले शंकास्पद कारोबारको विवरण विभागमा पठाएको थियो।

सन् २०२१ मा अग्रवालसँग सम्बन्धित खाताबाट भट्टको नाममा ठूलो रकम ट्रान्सफर भएको तर अडिटमा उल्लेख नभएको तथ्य पनि अनुसन्धानमा समेटिएको छ।

शंकर ग्रुप नेपालका ठूला औद्योगिक घरानामध्ये एक हो। १९७९ मा स्थापित यस समूहले स्टिल, सिमेन्ट, बीमा, जलविद्युत्, अटोमोबाइल, कृषि र उपभोक्ता सामग्री क्षेत्रमा व्यापक लगानी गरेको छ। समूह अन्तर्गत ४० भन्दा बढी कम्पनी सञ्चालनमा छन् र हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छ।

अग्रवालमाथि लगाइएका आरोपहरू अनुसन्धानकै चरणमा छन्। दोष प्रमाणित भएमा कानुनी कारबाही हुनेछ ।

प्रतिक्रिया