काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय र बिदासम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ। मानव स्रोत व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको निर्णयअनुसार अब प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ।
यो व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ। नयाँ प्रावधानसँगै बैंक तथा वित्तीय संस्थाको कार्यालय र कारोबार समयसमेत परिमार्जन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम हुनेछ। सर्वसाधारणका लागि बैंकिङ कारोबार भने बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।
कार्तिक १६ देखि माघ १५ गतेसम्मको जाडो अवधिमा भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ। सो अवधिमा बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिँदै सेवाग्राहीलाई पनि सोहीअनुसार सेवा लिन आग्रह गरेको छ।
निर्देशनलगत्तै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले आन्तरिक तयारी सुरु गरेका छन्। अधिकांश बैंकहरूले कर्मचारीलाई बिहान ८:४५ बजेसम्म कार्यस्थलमा उपस्थित हुन परिपत्र जारी गरेका छन्।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सोही निर्णयअनुसार बैंकहरूले सेवा समय अगाडि सार्दै बिहानैदेखि सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका हुन्।
आर्थिकन्यूज
प्रतिक्रिया