शीर्षकहरू

विद्यार्थी र अभिभावकमा भरोसा बढाउँदै तिलोत्तमाका सामुदायिक विद्यालय

विद्यार्थी र अभिभावकमा भरोसा बढाउँदै तिलोत्तमाका सामुदायिक विद्यालय

पुनहरि बेल्बासे

तिलोत्तमा । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या अन्य पालिकाको तुलनामा उल्लेखनीय रूपमा उच्च रहेको तथ्यांकले देखाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले उपलब्ध गराएको विवरण अनुसार सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दो देखिए पनि समग्र विद्यार्थी संख्यामा भने संस्थागत विद्यालयले अझै अग्रता कायम राखेका छन् ।

तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यका अनुसार शैक्षिक सत्र २०८२ मा पालिकाभित्रका प्रमुख सामुदायिक विद्यालयहरूमा उल्लेखनीय संख्यामा विद्यार्थी भर्ना भए। विशेषगरी शान्ति नमुना माध्यमिक विद्यालयमा ६ हजार ८६३ जना विद्यार्थी भर्ना भए, जुन पालिकाभित्रकै मात्र नभई देशकै सामुदायिक विद्यालयमध्ये एक उच्च संख्या मानिन्छ । त्यसैगरी पशुपति माध्यमिक विद्यालयमा १ हजार २८७ जना र जनज्योति माध्यमिक विद्यालयमा १ हजार ७ जना विद्यार्थी भर्ना भएका छन् । 

आचार्यका अनुसार तिलोत्तमा नगरपालिकाभित्र हाल ४२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।  ती विद्यालयहरूमा जम्मा १९ हजार ७७० जना विद्यार्थी अध्ययनरत छन्। यस्तै, पालिकाभित्र ४१ वटा संस्थागत विद्यालय रहेका छन्, जहाँ २८ हजार ७ सय २१ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । तथ्यांकले देखाएअनुसार सामुदायिक विद्यालयको संख्या संस्थागत विद्यालयभन्दा केही बढी भए पनि विद्यार्थी संख्या भने संस्थागत विद्यालयमा उल्लेख्य रूपमा बढी रहेको छ ।

शिक्षक व्यवस्थापनको अवस्था पनि सन्तोषजनक रहेको आचार्यले बताए । उनका अनुसार सामुदायिक विद्यालयहरूमा ३ सय १७ जना स्थायी शिक्षक कार्यरत छन् भने ७४ जना राहत शिक्षक, २४ जना अनुदान शिक्षक, १६ जना नगरपालिकाको अनुदानमा कार्यरत शिक्षक तथा ६६ जना बालविकास शिक्षक रहेका छन् । यसरी हेर्दा शिक्षक–विद्यार्थी अनुपात सन्तुलित बनाउने प्रयास भइरहेको देखिन्छ ।

सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएको दाबी गर्दै आचार्यले भने, “तिलोत्तमाका सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक उपलब्धिमा उल्लेखनीय प्रगति गरेका छन् । विशेषगरी एसइई परीक्षामा यहाँका विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्, जसले सामुदायिक शिक्षाप्रति जनविश्वास बढाएको छ ।”

यसको उदाहरणका रूपमा शान्ति नमुना माध्यमिक विद्यालयलाई लिन सकिन्छ । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेका अनुसार नेपालभरका सामुदायिक विद्यालयमध्ये यस विद्यालयबाट सबैभन्दा धेरै विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । “हाम्रो विद्यालयले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गरिरहेको छ । त्यसकै परिणामस्वरूप विद्यार्थीहरूको उपलब्धि उच्च रहँदै आएको छ ।” उनले भने ।

उनका अनुसार विद्यालयमा शैक्षिक वातावरण सुधार गर्न आधुनिक प्रविधिको प्रयोग, अतिरिक्त कक्षा सञ्चालन, नियमित मूल्यांकन प्रणाली तथा अभिभावकसँगको समन्वयलाई प्राथमिकता दिइएको छ । “विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक र सिर्जनात्मक शिक्षामा जोड दिइएको छ ।” लामिछानेले थपे ।

यद्यपि, सामुदायिक विद्यालयमा सुधार देखिए पनि संस्थागत विद्यालयतर्फ विद्यार्थीको झुकाव अझै कायम रहनु चुनौतीका रूपमा देखिएको छ । अभिभावकहरूमा निजी विद्यालयले दिने सुविधा, अंग्रेजी माध्यममा अध्यापन तथा अनुशासनप्रति आकर्षण अझै बलियो रहेको शिक्षाविद्हरू बताउँछन् ।

स्थानीय अभिभावकहरूको भनाइमा पनि निजी विद्यालयले दिने अतिरिक्त सेवा र पूर्वाधारले उनीहरूलाई आकर्षित गरिरहेको छ । “सामुदायिक विद्यालयको अवस्था पहिलेभन्दा सुधारिएको छ, तर अझै पनि पूर्वाधार र व्यवस्थापनमा सुधार आवश्यक छ,” एक अभिभावकले बताए ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गए पनि त्यसको प्रभाव जनमानसमा पूर्ण रूपमा पुग्न अझै समय लाग्ने देखिन्छ । उनीहरूका अनुसार सामुदायिक विद्यालयले निरन्तर रूपमा राम्रो नतिजा दिन सकेमा आगामी वर्षहरूमा विद्यार्थीको झुकाव अझै बढ्न सक्नेछ ।

नगरपालिकाले पनि सामुदायिक विद्यालय सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालय पूर्वाधार विकास, शिक्षक तालिम, प्रविधिमैत्री शिक्षण प्रणाली र छात्रवृत्ति कार्यक्रममार्फत सामुदायिक शिक्षालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

शिक्षा शाखा प्रमुख आचार्यले भने, “हामी सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने दिशामा निरन्तर काम गरिरहेका छौँ । आगामी दिनमा सामुदायिक विद्यालयप्रति विश्वास अझै बढ्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

सुधार गर्नु पर्ने कार्य ?

शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयले हासिल गरेको उपलब्धिलाई दिगो बनाउन थप रणनीतिक प्रयास आवश्यक देखिन्छ । सबैभन्दा पहिले, विद्यालयहरूको भौतिक पूर्वाधार अझै सुदृढ बनाइनुपर्छ । सुरक्षित, आकर्षक र प्रविधिमैत्री कक्षाकोठाले विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसैगरी, अंग्रेजी माध्यममा अध्यापनको मागलाई मध्यनजर गर्दै द्विभाषिक शिक्षण प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्न सकिन्छ । यसले सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धी बनाउन सहयोग पु¥याउनेछ ।

शिक्षकहरूको क्षमता अभिवृद्धि पनि उत्तिकै आवश्यक छ । नियमित तालिम, कार्यशाला तथा आधुनिक शिक्षण विधिबारे ज्ञान अभिवृद्धि गरिनु आवश्यक छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिएमा शिक्षण गुणस्तर थप सुधार हुन सक्छ ।

अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि विशेष पहल आवश्यक छ । नियमित अभिभावक–शिक्षक अन्तरक्रिया, प्रगति विवरणको पारदर्शिता तथा सामुदायिक सहभागिता बढाउन सकेमा विद्यालयप्रति विश्वास अझ बढ्नेछ ।

त्यसैगरी, अतिरिक्त क्रियाकलापहरू—जस्तै खेलकुद, सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी तथा प्रविधि सम्बन्धी अभ्यास—लाई प्राथमिकता दिइनु आवश्यक छ । यसले विद्यार्थीको समग्र विकासमा टेवा पु¥याउनेछ र विद्यालयलाई आकर्षक बनाउनेछ ।

नगरपालिकाले पनि दीर्घकालीन शिक्षा नीति बनाएर सामुदायिक विद्यालयलाई स्पष्ट लक्ष्य र दिशानिर्देश दिनुपर्छ । स्रोत साधनको उचित व्यवस्थापन, अनुगमन प्रणालीको सुदृढीकरण तथा नतिजामुखी योजना कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।

समग्रमा सामुदायिक विद्यालयले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा अभिभावक र विद्यार्थीको विश्वास अझै मजबुत बन्नेछ । यसले संस्थागत विद्यालयसँगको दूरी घटाउँदै समग्र शिक्षा प्रणालीलाई सन्तुलित र समावेशी बनाउन महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।
 

प्रतिक्रिया