शीर्षकहरू

मध्यपूर्व तनावबीच ओपेक प्लसद्वारा तेल उत्पादन वृद्धि

मध्यपूर्व तनावबीच ओपेक प्लसद्वारा तेल उत्पादन वृद्धि

काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्वका बीच तेल निर्यातकर्ता मुलुकहरूको समूह ओपेक प्लसले उत्पादन बढाउने निर्णय गरेको छ। समूहले मे महिनादेखि लागू हुनेगरी दैनिक दुई लाख ६ हजार ब्यारेल कच्चा तेल उत्पादन थप्ने निर्णय गरेको जनाएको छ।

ओपेकद्वारा जारी वक्तव्यअनुसार भर्चुअल बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। बैठकमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमान सहभागी थिए। बैठकले विश्व ऊर्जा बजारको अवस्था र आगामी आपूर्ति–मागको सन्तुलनबारे समीक्षा गरेको थियो।

मध्यपूर्वमा बढ्दो सैनिक तनावका कारण ऊर्जा आपूर्तिमा अवरोध आउने जोखिम बढिरहेको भन्दै सहभागी देशहरूले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको औँल्याएका छन्। ऊर्जा पूर्वाधारमा भइरहेका आक्रमणले आपूर्ति प्रणाली प्रभावित भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

समूहले क्षतिग्रस्त ऊर्जा संरचना पुनःस्थापना गर्न समय र लागत दुवै लाग्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनाएको छ। यसबीच, ओपेक प्लसका देशहरूले आगामी मे ३ मा पुनः बैठक गरी थप रणनीति तय गर्ने जनाएका छन्।

फेब्रुअरी अन्त्यदेखि क्षेत्रीय तनाव बढ्दै जाँदा कच्चा तेल उत्पादन र ढुवानीमा गिरावट आएको छ। यस्तो अवस्थामा उत्पादन वृद्धि गर्ने निर्णयलाई विश्व ऊर्जा आपूर्ति सन्तुलन कायम राख्ने रणनीतिक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया