काठमाडौं। पछिल्ला दिनहरूमा सेयर बजारमा देखिएको तीव्र गिरावटपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्टक ब्रोकरहरूसँग छलफल गरेका छन्।
अर्थ मन्त्रालयमा भएको भेटमा पुँजी बजारको वर्तमान अवस्था, लगानीकर्ताको मनोबल र सुधारका उपायबारे केन्द्रित छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार मात्रै नेप्से १०५ अंकले घटेपछि बजारमा चासो र चिन्ता बढिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले बजारमा देखिएका संरचनागत समस्या, ब्रोकरको कार्यक्षेत्र विस्तार र नीतिगत सुधारको आवश्यकता बारे अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पुँजी बजारलाई थप पारदर्शी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका छन्।
एसोसिएसनले अर्थमन्त्री वाग्लेसँग पुँजीबजार सुधार कार्यदलका बाँकी सुझाव तुरुन्त लागू गर्न माग गरेको छ। उनीहरूले ६ मुख्य बुँदामा जोड दिएका छन्, जसमा बैंक र वित्तीय संस्थाहरूलाई सहज प्रवेश र निकासीको व्यवस्था, गैर-आवासीय नेपाली नागरिकको दोस्रो बजार पहुँच, पुँजीगत लाभकरको स्पष्टिकरण, सरकारी कोषको बजार लगानीमा उपयोग, धितोपत्र हस्तान्तरण समस्या समाधान र सेटलमेन्ट ग्यारेन्टी फन्डको कार्यान्वयन समावेश छन्।
छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले व्यवसायीमाथि अहिलेको कारबाहीले निजी क्षेत्र कमजोर बनाउने उद्देश्य नरहेको स्पष्ट पारेका छन्। उनले सीमित व्यक्तिमाथि मात्र अनुसन्धान भएको भन्दै अनावश्यक त्रास नमान्न व्यवसायीलाई आग्रह गरे।
वाग्लेले सरकार वित्तीय अनुशासनमा केन्द्रित रहेको र पुँजी बजारलाई सक्रिय राख्न आवश्यक रहेको बताए। साना लगानीकर्तालाई आत्तिएर शेयर नबेच्न सुझाव दिँदै आवश्यक परेमा सरकारी, नियामक र सरोकारवालासँग मिलेर समाधान खोजिने पनि जानकारी दिएका छन्।
छलफलपछि ब्रोकरहरूले बजार सुधारप्रति अर्थमन्त्री वाग्ले सकारात्मक देखिएको बताएका छन्। उनीहरूका अनुसार सरकारले स्पष्ट नीति र विश्वासको वातावरण बनाउने हो भने बजारमा स्थिरता फर्कन सक्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय बजारमा देखिएको उतारचढाव, नीति सम्बन्धी अन्योल र लगानीकर्ताको मनोवैज्ञानिक दबाबका बीच भएको यो छलफलले आगामी दिनमा सरकारको धारणा कस्तो हुन्छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।
सुधारका मागसहित लगानीकर्ताको विरोध
व्यवसायी पक्राउ प्रकरणसँगै सेयर बजार उच्च अंकले घट्न थालेपछि लगानीकर्ताहरू विरोधमा उत्रिएका छन्।
आइतबार केही लगानीकर्ताहरू सिंहदरबारको पश्चिम गेट अगाडि विरोध गर्न पुगेका थिए। तर प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएर नेपाल आयल निगम अगाडि पुर्याएको थियो। त्यसपछि लगानीकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए ।
लगानीकर्ता तिलक कोइरालाले सरकारको कदमप्रति आंशिक समर्थन जनाउँदै बजार सुधारमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरे। “बदमासी गर्नेहरूलाई पक्राउ गर्नु ठीक हो, तर सरकारले लगानीकर्तालाई आश्वस्त पार्ने र बजारमैत्री नीति तत्काल ल्याउनुपर्छ,” उनले भने।
लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डको पुनःसंरचना, आईपीओमा देखिएको अनियमितताको छानबिन तथा एसएमई प्लेटफर्म सञ्चालनजस्ता विषय तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
साथै, मार्जिन ट्रेडिङ विस्तार, अनलाइन प्रणाली सुदृढीकरण र गैरआवासीय नेपाली (एनआरएन) लगानी भित्र्याउने व्यवस्था गरी बजारमा पहुँच र तरलता बढाउनुपर्ने मागसमेत अघि सारिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया