काठमाडौं । सरकारले अस्पतालका नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक तथा विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ‘तालिमी’ का नाममा भइरहेको श्रम शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले श्रम ऐनको अनिवार्य पालना गर्न निर्देशन दिँदै तालिमका नाममा काममा लगाइएका व्यक्तिलाई समेत न्यूनतम पारिश्रमिकसहित सामाजिक सुरक्षासम्बन्धी सुविधा उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार रोजगारदाताले न्यूनतम तलब, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमाजस्ता सुविधा उपलब्ध गराउनु कानुनी दायित्व हो।
पछिल्लो समय विशेषगरी नर्सिङ स्टाफ र निजी विद्यालयका शिक्षकहरूले न्यूनतम पारिश्रमिक नपाएको भन्दै मन्त्रालयमा उजुरी बढेपछि यस्तो चेतावनी जारी गरिएको हो। मन्त्रालयले यस्ता गुनासोमाथि आवश्यक छानबिन गरी नियम उल्लंघन गर्ने रोजगारदातामाथि कारबाही गर्ने जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया