शीर्षकहरू

भृकुटी स्टक ब्रोकिङ निलम्बित, नियमविपरीत कारोबारमा सेबोनको कारबाही

भृकुटी स्टक ब्रोकिङ निलम्बित, नियमविपरीत कारोबारमा सेबोनको कारबाही

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ (ब्रोकर नम्बर ५५) लाई निलम्बन गरेको छ।

कम्पनीले नियमविपरीत रूपमा विवादास्पद बिचौलिया दीपक भट्टलाई उधारोमा शेयर किनबेच गराएको तथा भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोप लागेपछि यस्तो निर्णय गरिएको हो।

सोमबार बसेको सेबोनको बोर्ड बैठकले कम्पनीलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट भृकुटी स्टक ब्रोकिङले वित्तीय नियम उल्लंघन गरेको पुष्टि भएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाहीका लागि सिफारिस गरिएको थियो। अनुसन्धानमा दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतका शेयर खरिद गर्दा आफ्नै बैंक खाताबाट नभई अन्य व्यक्तिका खातामार्फत भुक्तानी गरेको पाइएको थियो।

विद्यमान नियमअनुसार, शेयर खरिद अघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत मार्जिन रकम लिनुपर्ने व्यवस्था छ। तर उक्त कम्पनीले यो प्रावधान पालना नगरी उधारोमा कारोबार गराएको र तेस्रो पक्षबाट भुक्तानी स्वीकार गरेको पाइएको छ, जसले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको निष्कर्ष निकालिएको छ।

यस निर्णयसँगै भृकुटी स्टक ब्रोकिङले अर्को सूचना नआएसम्म कुनै पनि शेयर कारोबार गर्न पाउने छैन। काठमाडौँसहित देशका १० स्थानबाट सेवा दिँदै आएको कम्पनीका ग्राहकहरू यस निलम्बनबाट प्रत्यक्ष प्रभावित हुनेछन्।

प्रतिक्रिया