काठमाडौँ। कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत १० गतेदेखि स्थानीयका लागि शेयर बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको हो। प्रतिशेयर १०० रुपैयाँका दरले जारी गरिएको उक्त शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र बाँकी ४ लाख ९० हजार कित्ता प्रभावित क्षेत्रका अन्य स्थानीयलाई वितरण गरिनेछ।
अति प्रभावित क्षेत्रअन्तर्गत बझाङका केदारस्यूँ गाउँपालिका–४ र ५, बित्थडचिर गाउँपालिका–६ र ८, बुंगल नगरपालिका–३, ४, ५, ६ र ८, बैतडीको डिलासैनी गाउँपालिका–१ र २ तथा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का बासिन्दा पर्दछन्। बाँकी शेयर सोही जिल्लाका अन्य वडाका स्थायी बासिन्दामा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका अतिरिक्त आयोजनास्थल कार्यालय तथा विभिन्न बैंकका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। आवेदन फाराम लिन २ रुपैयाँ शुल्क तोकिएको छ।
कम्पनीले बझाङमा निर्माण गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २८ करोड ३० लाख रुपैयाँ रहेको उक्त आयोजनाबाट २०७९ माघ २७ गतेदेखि विद्युत उत्पादन सुरु भइसकेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २५ वर्षभन्दा बढी बाँकी छ।
आयोजनामा लगानी फिर्ता हुने सामान्य अवधि ९.२९ वर्ष र छुटदरमा गणना गर्दा १८.०१ वर्ष रहेको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया