काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको उतारचढाव नियन्त्रणका लागि प्रयोग हुँदै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा परिमार्जन गर्ने तयारी गरेको छ। ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ संशोधनमार्फत सर्किट ब्रेकरको सीमा र समय पुनःनिर्धारण गरिएको हो।
नेप्सेले तयार पारेको संशोधन प्रस्तावलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले स्वीकृति दिइसकेको छ। अब बोर्डबाट आधिकारिक पत्र प्राप्त भएपछि नेप्से सञ्चालक समितिले नयाँ व्यवस्था लागू हुने मिति तय गर्नेछ।
संशोधित व्यवस्थाअनुसार अब कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ। हालसम्म ४ प्रतिशत उतारचढावमा २० मिनेट कारोबार रोक्ने व्यवस्था थियो। त्यस्तै, पहिलो सर्किटपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले बढे वा घटेमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि ६ प्रतिशत उतारचढावमै दिनभर कारोबार बन्द हुने प्रावधान थियो।
नयाँ व्यवस्थाले सर्किट ब्रेकरको तहलाई पुनर्संरचना गर्दै ४ प्रतिशतको सीमा हटाएर पहिलो तह ५ प्रतिशतमा राखेको छ भने अन्तिम सीमा ६ बाट बढाएर ८ प्रतिशत पुर्याइएको छ। यसले बजारलाई तुलनात्मक रूपमा बढी चलायमान बनाउने र लगानीकर्तालाई कारोबारका लागि थप समय उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यद्यपि, व्यक्तिगत कम्पनीहरूको शेयर मूल्यमा लागू हुने दैनिक उतारचढाव सीमा भने यथावत् राखिएको छ। सूचीकृत कम्पनीहरूको हकमा एकै दिनमा बढीमा १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न पाउने पुरानै व्यवस्था कायम रहनेछ।
नेप्से स्रोतका अनुसार संशोधित व्यवस्था कार्यान्वयनअघि आवश्यक प्राविधिक तयारी पूरा गरिनेछ र बजारमा बढ्दो कारोबार तथा लगानीकर्ताको सहभागितालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार यो परिवर्तन गरिएको हो
‘आफ्टर मार्केट अर्डर’ लागू हुने बाटो खुल्यो : अब राति–बिहानै सेयर किनबेचको अर्डर राख्न पाइने
नेपाली पुँजी बजारलाई आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यसहित ‘आफ्टर मार्केट अर्डर (AMO)’ कार्यान्वयनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को सोमबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्ताव गरेको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनलाई स्वीकृति दिएसँगै यो व्यवस्था अघि बढेको हो।
बोर्डका अनुसार विनियमावली संशोधनको निर्णय भइसकेको छ। अब बोर्डबाट स्वीकृत विनियमावली नेप्से सञ्चालक समितिले औपचारिक रूपमा पारित गरेपछि ‘आफ्टर मार्केट अर्डर’ सेवा कार्यान्वयनमा आउनेछ।
यो व्यवस्था लागू भएपछि लगानीकर्ताले नियमित कारोबार समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहेक पनि जुनसुकै समयमा सेयर खरिद–बिक्रीका अर्डर राख्न सक्नेछन्। बजार बन्द भएपछि राति वा बिहानै राखिएका अर्डरहरू भोलिपल्ट बजार खुलेलगत्तै प्राथमिकताका आधारमा कार्यान्वयनमा जानेछन्। यसका लागि छुट्टै समय सीमा तोकिएको छैन।
विशेषगरी विदेशमा रहेका नेपाली (एनआरएन) लगानीकर्तालाई यसबाट ठूलो सहजता हुने अपेक्षा गरिएको छ। समय फरकका कारण नेपाली बजार खुलेको बेला कारोबार गर्न कठिनाइ भोग्दै आएका उनीहरूले अब आफ्नो अनुकूल समयमा अर्डर राख्न सक्नेछन्। त्यस्तै, कार्यालय समयमा व्यस्त रहने कर्मचारी तथा अन्य पेसाकर्मीले पनि बिहान–बेलुका नै आफ्नो लगानी योजना अनुसार अर्डर ‘सेट’ गर्न पाउनेछन्।
‘आफ्टर मार्केट अर्डर’ प्रणालीले बजारमा थप लगानीकर्ता आकर्षित गर्ने, माग–आपूर्तिमा सन्तुलन ल्याउने र कारोबार रकम वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, डिजिटल र प्रविधिमैत्री पुँजी बजार विकासतर्फ यो महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया