शीर्षकहरू

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, अर्को पद अझै रिक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, अर्को पद अझै रिक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा मन्त्रिपरिषद्ले मंगलबार पण्डितलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि रिक्त रहँदै आएको डेपुटी गभर्नर पदमध्ये एकमा नियुक्ति गरिएसँगै केन्द्रीय बैंकको नेतृत्व आंशिक रूपमा पूर्ण भएको छ। तर, अर्को डेपुटी गभर्नर पद भने अझै खाली नै राखिएको छ।

गभर्नर पौडेलले रिक्त दुई पदका लागि चार जनाको नाम सिफारिस गरेका थिए। तीमध्येबाट एकमा पण्डित चयन भएका हुन् भने अर्को डेपुटी गभर्नर पद अझै खाली राखिएको छ। गत फागुन २५ गते नीलम ढुङ्गना तिम्सिना र बमबहादुर मिश्र अवकाश पाएपछि दुवै पद रिक्त भएका थिए।

कानुनी व्यवस्थाअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्येबाट नियुक्त गर्नुपर्ने प्रावधान छ। पण्डित हाल विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

नियुक्तिअघि गभर्नर पौडेलले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग छलफल गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाह सँग पनि परामर्श गरेका थिए।

को हुन् पण्डित ?

२०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका पण्डितले विभिन्न महत्वपूर्ण विभागमा काम गरिसकेका छन्। बैंक सुपरीवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, वित्तीय समावेशिता तथा उपभोक्ता संरक्षण र भुक्तानी प्रणालीजस्ता क्षेत्रमा उनको अनुभव रहेको छ।

केही समय राष्ट्र बैंकका प्रवक्तासमेत रहेका पण्डितले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा जारी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको मस्यौदा तयार पार्ने भूमिकासमेत निर्वाह गरेका थिए।

बजारसँग कम सार्वजनिक अन्तर्क्रिया गर्ने स्वभावका पण्डितलाई प्राविधिक दक्षता र नीतिगत समझका कारण राष्ट्र बैंकभित्र सक्षम अधिकारीका रूपमा चिनिन्छ।

 

प्रतिक्रिया