शीर्षकहरू

राष्ट्रिय तथ्यांक कार्यालय र उद्याेग परिसंघबीच सम्झौता

राष्ट्रिय तथ्यांक कार्यालय र उद्याेग परिसंघबीच सम्झौता

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल उद्याेग परिसंघ (सीएनआई) बीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहकार्य गर्ने उद्देश्यसहित महत्वपूर्ण समझदारी भएको छ।

सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच उक्त सहमति भएको हो। समझदारीपत्रमा कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका थिए। कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी डा. कमल प्रसाद पोख्रेल तथा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति रहेको थियो।

समझदारी अनुसार देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि आवश्यक गुणस्तरीय र समयानुकूल तथ्याङ्क प्रणाली विकासमा दुवै पक्षले सहकार्य गर्नेछन्। साथै निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क संकलन, विश्लेषण र उपयोगलाई सुदृढ गर्दै तथ्याङ्कको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा परिसंघका अध्यक्ष पाण्डेले यस सहकार्यले निजी क्षेत्रका आर्थिक तथ्याङ्कलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै, प्रमुख तथ्याङ्क अधिकारी डा. पोख्रेलले सरकारी र निजी क्षेत्रबीचको सहकार्यले राष्ट्रिय तथ्याङ्क प्रणालीको विकास, तथ्याङ्कको गुणस्तर सुधार तथा यसको उपयोग विस्तारमा सकारात्मक योगदान पुर्‍याउने बताए।

समझदारी अनुसार राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, नीति अध्ययन तथा अनुसन्धान, तथ्याङ्क आदान–प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा सहकार्य गरिनेछ।

प्रतिक्रिया