शीर्षकहरू

राष्ट्रिय आर्थिक गणना, २०८२ : तथ्याङ्क र योजना निर्माणमा बैंकिङ क्षेत्रको सक्रिय सहभागिता

राष्ट्रिय आर्थिक गणना, २०८२ : तथ्याङ्क र योजना निर्माणमा बैंकिङ क्षेत्रको सक्रिय सहभागिता

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल बैंकर्स एसोसिएसनको संयुक्त आयोजनामा मिति २४ चैत्र २०८२ मा “राष्ट्रिय आर्थिक गणना, २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंकसहित विभिन्न बैंकका २५ जना प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्माले भने, “सही तथ्याङ्क नै सही योजनाको आधार हो। देशको आर्थिक अवस्थाको वास्तविक चित्र उतार्न यो गणना कोशेढुंगा सावित हुनेछ।” उनले प्रदेश र स्थानीय तहका सरकारहरूलाई पनि यस अभियानमा सक्रिय हुन आग्रह गरे ।

कार्यपत्र प्रस्तुत गर्दै डा. ढकालले नेपालको जीडीपीमा अनौपचारिक क्षेत्रको हिस्सा अझै ४१ प्रतिशत हाराहारीमा रहेको जानकारी दिए। उनले भने, “अनौपचारिक क्षेत्रलाई गणनामा समेट्न सके मात्र अर्थतन्त्रको वास्तविक बल झल्किन्छ।”

लक्ष्मी सनराइज बैंकका प्रमुख वित्त अधिकृत दिपेश चालिसेले बैंकिङ क्षेत्रका लागि यो गणना महत्वपूर्ण रहेको बताउँदै आवश्यक सहयोगको प्रतिबद्धता जनाए।

छलफलमा बैंक प्रतिनिधिहरूले मर्जर भएका बैंकहरूको तथ्याङ्क व्यवस्थापन, कर्मचारी विवरण र इ-सेन्ससको प्रयोगबारे चासो राखेका थिए।

उप-प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले बैंकहरूलाई इ-सेन्ससमार्फत विवरण उपलब्ध गराउन आग्रह गर्दै तथ्याङ्कको गोपनीयता कायम रहने आश्वासन दिए।उनले निजी क्षेत्रको सहभागिता विना अभियान सफल नहुने भएकाले बैंकिङ क्षेत्रसँग सहकार्य आवश्यक रहेको समेत स्पष्ट पारे।

कार्यक्रमको अन्त्यमा आर्थिक गणना सफल पार्न सबै सरोकारवालालाई सहयोग र समन्वयका लागि अनुरोध गरिएको थियो।

प्रतिक्रिया