बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा सुरक्षण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले बुटवलमा एक दिने गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा “कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखीकरण कार्यक्रम” आयोजना गरिएको हो।
गोष्ठीको सञ्चालन कोषका बुटवल शाखा प्रमुख बसन्त केसीले गरेका थिए भने स्वागत मन्तव्य नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले व्यक्त गरिन्। कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल, कर्जा विभाग प्रमुख विक्रान्त आचार्य तथा सूचना प्रविधि विभाग प्रमुख राजु केसीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा कर्जा सुरक्षण सम्बन्धी हाल सञ्चालनमा रहेका कार्यक्रम तथा आगामी योजनाबारे कर्जा विभाग प्रमुख विक्रान्त आचार्यले जानकारी गराएका थिए। साथै, कोषले कार्यान्वयनमा ल्याउन लागेको कर्जा दाबी व्यवस्थापनसम्बन्धी नयाँ सफ्टवेयरबारे सूचना प्रविधि विभाग प्रमुख राजु केसीले प्रस्तुति दिएका थिए।
छलफलका क्रममा सहभागी वित्तीय संस्थाका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए। ग्रामिण लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले पनि आफ्नो धारणा राख्दै यस्तो कार्यक्रमले संस्थागत सहकार्यलाई बल पुर्याउने बताएका थिए।
कार्यक्रमको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले उठेका जिज्ञासाको सम्बोधन गर्दै कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन कोष प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इन्फिनिटी लघुवित्त, ग्रामिण लघुवित्त, जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्त, सम्पदा लघुवित्त, उन्नति सहकार्य लघुवित्त, स्वरोजगार लघुवित्त, लक्ष्मी लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिवाइसी नेपाल लघुवित्त लगायतका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कोषले वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद गर्दै कर्जा सुरक्षणसम्बन्धी समस्या पहिचान र सुधारका लागि सुझाव संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। चालु आर्थिक वर्षभित्र सबै प्रदेश समेट्ने गरी यस्ता गोष्ठी सञ्चालन गरिने कोषको योजना छ।
आर्थिकन्यूज
प्रतिक्रिया