शीर्षकहरू

यही सातादेखि शुक्रबार पनि शेयर कारोबार खुल्ने

यही सातादेखि शुक्रबार पनि शेयर कारोबार खुल्ने

काठमाडौं। सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार तालिका परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब आइतबार सेयर बजार बन्द रहनेछ भने यही सातादेखि शुक्रबार पनि नियमित रूपमा कारोबार सञ्चालन हुने भएको छ।

सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार तालिकामा परिवर्तन गरिएको हो । अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको छ।

नेप्सेको सञ्चालक समितिको निर्णयअनुसार यस हप्तादेखि नै नयाँ व्यवस्था लागू हुनेछ। यसअघि आइतबार कारोबार भइसकेको भए पनि आगामी शुक्रबार (चैत २७ गते) पनि बजार खुल्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले चैत २३ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेप्सेले पनि आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो।

यसअघि २०७९ सालमा पनि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले आइतबार बन्द गरेर सोमबारदेखि बिहीबारसम्म नियमित र शुक्रबार छोटो समयका लागि कारोबार सञ्चालन गरेको थियो। पछि उक्त निर्णय फिर्ता भएसँगै बजार पुनः आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार अब आइतबार नेप्से कार्यालय र सेयर कारोबार दुवै बन्द रहनेछन् भने शुक्रबार नियमित रूपमा सञ्चालन हुनेछ।

प्रतिक्रिया