शीर्षकहरू

इनड्राइभले ड्राइभरलाई २२ लाख बराबरको पेट्रोल सहयोग गर्ने

इनड्राइभले ड्राइभरलाई २२ लाख बराबरको पेट्रोल सहयोग गर्ने

काठमाडौं । इनड्राइभ नेपालले आफ्ना ड्राइभर पार्टनरहरूलाई २२ लाख बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । इनड्राइभले बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना ड्राइभर पार्टनरहरूलाई यस्तो सहयोग गर्न लागेको हो । 

पछिल्लो समय इन्धन मूल्यमा भएको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाएको छ । जसले उनीहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । अर्कोतर्फ, यात्रुहरू पनि भाडा वृद्धि प्रति संवेदनशील रहेको अवस्थामा बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ ।

यही दोहोरो चुनौतीलाई सम्बोधन गर्न इनड्राइभले चालकहरूको दिगोपन र यात्रुहरूको किफायती सेवाबीच सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएको छ । 

चालकहरूका लागि इन्धन सहयोग पहल

बढ्दो सञ्चालन लागतलाई ध्यानमा राख्दै इनड्राइभले वैशाख २ गतेदेखि लागू हुने गरी २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यो कार्यक्रममार्फत इन्धन मूल्य वृद्धिबाट प्रभावित चालकहरूको आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यस पहलले चालकहरूको आम्दानीमा आएको दबाबलाई न्यूनीकरण गर्नुका साथै यात्रुहरूमा थप आर्थिक भार नपार्दै सेवा निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । यसले बजारअनुकूल र व्यवहारिक समाधानमार्फत चालकहरूको दिगोपन सुदृढ गर्ने तथा किफायती यातायात सेवा निरन्तर उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

सन्तुलित र दिगो मोबिलिटी प्रणालीप्रति प्रतिबद्धता

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनीता जिमी राईले बढ्दो इन्धन लागतले हाम्रा ड्राइभर पार्टनरहरूको दैनिक आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको बताइन् ।

यस्तो अवस्थामा प्लेटफर्महरूको जिम्मेवारी भनेको तत्काल राहत दिने मात्र नभएर दीर्घकालीन रूपमा चालक र यात्रु दुवैका लागि न्यायोचित र सन्तुलित प्रणाली निर्माण गर्नु रहेको बताइन् ।

प्रतिक्रिया