काठमाडौं । ईशान बाल तथा महिला अस्पतालले आज एक विशेष कार्यक्रमको आयोजना गरी विश्व बाल शल्यचिकित्सा दिवस मनाएको छ।
कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामनन्दन चौधरीले बालबालिकाका विभिन्न स्वास्थ्य समस्याहरूको प्रभावकारी उपचारका लागि मात्र नभई जटिल अवस्थामा उनीहरूको ज्यान जोगाउन समेत बाल शल्यचिकित्साको विशेष महत्व रहेको कुरामा जोड दिनुभयो।
डा. चौधरीले ईशान अस्पतालले प्रदान गर्दै आएका बाल शल्यचिकित्सा सेवाहरूबारे विस्तृत जानकारी दिनुभयो । यस्ता सेवाहरूमा जन्मपूर्वको निदान र परामर्श, नवजात शिशुको शल्यक्रिया, अर्बुद रोग (अन्को) शल्यक्रिया, इन्डोस्कोपी, कोलोनोस्कोपी, तथा बर्न तथा रिकन्स्ट्रक्टिभ शल्यक्रिया आदि पर्दछन्।
उहाँले अस्पतालले नेपालका साथै विदेशका बिरामीहरूलाई समेत सफलतापूर्वक सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो। "हाम्रो उच्च स्तरको उपचार सेवाका कारण उल्लेख्य संख्यामा विदेशी नागरिकहरू पनि यहाँ आउने गर्छन्," उहाँले भन्नुभयो। यसका साथै अस्पतालले देशको स्वास्थ्य पर्यटन प्रवर्द्धनमा पनि सक्रिय रूपमा योगदान पुर्याइरहेको उहाँले बताउनुभयो।
वि.सं. २०५२ (सन् १९९५) मा नेपालको पहिलो गैर-सरकारी बाल अस्पतालको रूपमा स्थापना भएको ईशान हाल धापासीस्थित विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसारको भवनबाट सञ्चालित छ।
आईएसओ ९००१:२०१५ प्रमाणित यस अस्पतालले महिला तथा बालबालिकाका लागि विभिन्न विशिष्टीकृत सेवाहरू प्रदान गर्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया