काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २५) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि निष्काशन बन्द गर्ने जनाएको छ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ।
दोस्रो चरणमा कम्पनीले ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यसमध्ये केही हिस्सा सामूहिक लगानी कोष र कर्मचारीका लागि सुरक्षित गरिएको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मेरो शेयर मार्फत अनलाइन वा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।
कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष अनुमान गरिएको छ।
आईपीओको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया