काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २५) अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि निष्काशन बन्द गर्ने जनाएको छ।
यसअघि कम्पनीले निष्काशन अवधि २०८३ वैशाख ७ गतेसम्म लम्ब्याएको थियो। तर, उच्च मागका कारण निर्धारित समयभन्दा अघि नै बिक्री बन्द गर्न लागिएको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो।
उक्त शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता बुंगल नगरपालिका का वडा नम्बर १, २ र ४ का अति प्रभावित बासिन्दामा वितरण गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा बाँडफाँट गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीलाई इक्रा नेपाल ले ‘डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष र डिस्काउण्टमा १४.६९ वर्ष रहेको छ।
आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन लक्ष्मी सनराइज बैंक को चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक को बझाङ शाखाबाट दिन सकिनेछ। साथै, पावरहाउस विरावगर, बुंगलबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित बासिन्दाले शेयर आवेदन फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया