काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंक ले २५ अर्ब रुपैयाँ बराबरको रकम बजारबाट खिच्ने निर्णय गरेको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बुधबार उक्त रकम तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा कुल आह्वान रकमभित्र रहने गरी ५ करोड रुपैयाँको गुणकमा आवेदन दिन सक्नेछन्।
निक्षेप संकलनका लागि ब्याजदर प्रतिस्पर्धात्मक (बोलकबोल) आधारमा निर्धारण गरिनेछ भने बहुब्याजदरमा समेत प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।
यो ५६ दिने निक्षेप संकलन उपकरणअन्तर्गत उठाइएको रकमको साँवा तथा ब्याज आगामी जेठ २० गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया