शीर्षकहरू

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि बयान लिन आवश्यक देखिएपछि आदेश जारी गरिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले देउवा दम्पत्तिविरुद्ध केही समयदेखि अनुसन्धान गर्दै आएको छ। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि अनुसन्धान थप तीव्र बनाइएको स्रोतले जनाएको छ।

विभागको सिफारिसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले यसअघि पूर्वऊर्जामन्त्री दीपक खड्का लाई चैत १५ गते पक्राउ गरेको थियो। हाल विभागले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल माथि पनि अनुसन्धान गरिरहेको छ। ओली भने भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा चैत १४ गतेदेखि हिरासतमा छन्।

देउवा उपचारका लागि भन्दै फागुन १३ गते सिंगापुर गएका थिए र त्यसपछि हङकङ पुगेका छन्। आरजू देउवा पनि विदेशमै रहेको जनाइएको छ। उनीहरू विदेशमा रहेकाले पक्राउ पुर्जी कार्यान्वयनका लागि प्रहरीले अन्तर्राष्ट्रिय समन्वय प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

भदौ २४ गतेको जेनजी घटनामा देउवा निवासमा आगजनी हुँदा ठूलो मात्रामा नगद जलेको अवस्थामा फेला परेको थियो। सोही घटनासँग जोडिएका प्रमाणका आधारमा विभागले सम्पत्ति शुद्धीकरणको कोणबाट अनुसन्धान गरिरहेको हो। घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरिएको थियो।

घटनापछि करिब सात महिनापछि घर भत्काउने प्रयास गरिएकोमा प्रमाण नष्ट हुने आशंकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको थियो।

प्रहरी स्रोतका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै अब देउवा दम्पत्तिविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजी प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया