काठमाडौं। सेयर बजारमा बुधबार उत्साहजनक सुधार देखिएको छ। अघिल्लो दिन सामान्य गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन ४५.१२ अंकले उकालो लाग्दै २८०२.५२ विन्दुमा पुगेर बन्द भएको छ।
यससँगै बजारका अन्य सूचकहरूमा पनि सुधार देखिएको छ। सेन्सेटिभ इण्डेक्स ५.७५ अंकले बढ्दा फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले उकालो लागेको छ।
उपसमूहगत रूपमा हेर्दा १३ वटै उपसमूह हरियाली देखिएका छन्। उत्पादन तथा प्रशोधन उपसमूहमा सर्वाधिक ३.८७ प्रतिशत वृद्धि हुँदा होटल तथा पर्यटन र जलविद्युत उपसमूहमा पनि उल्लेख्य सुधार देखिएको छ।
कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँमा सीमित रहेको कारोबार बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ नाघेको छ। कुल ३४६ कम्पनीका ९८ हजारभन्दा बढी कारोबारमार्फत १ करोड ८८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।
बजारमा सात कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् भने सान्भि इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमका सेयरमा पनि उच्च वृद्धि देखिएको छ। यद्यपि श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य भने सबैभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहँदा रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट्समा पनि उच्च कारोबार भएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया