काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँगको भेटमा मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सामूहिक शिष्टाचार भेटमा उनले नेपालले सबै देशसँग सन्तुलित, विश्वासमा आधारित र पारस्परिक लाभका आधारमा सम्बन्ध अघि बढाउने नीति लिएको स्पष्ट पारे।
“नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिमा विश्वास गर्छ,” उनले भने, “हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ।” उनले नेपालको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएका मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे।
प्रधानमन्त्री शाहले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वले सर्वसाधारण नागरिकलाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै शान्ति कायम गर्नु सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए।
उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन र दिगो विकासका लक्ष्य हासिल गर्न सरकार सक्रिय रहेको बताए। साथै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आर्थिक संरचनामा थप सुदृढ रूपमा जोड्ने लक्ष्य राखिएको उल्लेख गरे।
“नयाँ सरकार हुनु भनेको नीतिगत निरन्तरतामा विच्छेद होइन,” उनले भने, “राजनीतिक स्थायित्व कायम राख्दै पूर्वानुमानयोग्य नीति वातावरण बनाइराख्न हामी दृढ छौँ।”
प्रधानमन्त्रीले विकास, व्यापार, लगानी, जलवायु परिवर्तन तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य बढाउन सरकार इच्छुक रहेको पनि बताए। विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखिएको उनले दोहोर्याए।
आर्थिकन्यूज
प्रतिक्रिया