काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रविन सिजापती नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष सिजापतीले आज बुधबार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
संस्थापक अध्यक्ष तथा वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको २०८२ चैत ९ गते असामयिक निधन भएपछि चैत २४ गते बसेको सञ्चालक समितिको २०१औँ बैठकले सिजापतीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो।
शपथग्रहण समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको वर्तमान अवस्थाबारे जानकारी दिँदै संस्था स्थापनाको १२ वर्ष पूरा गरिसकेको, हाल हिमाल, पहाड र तराईका ६७ जिल्लामा फैलिएको १८५ शाखामार्फत करिब २ लाख ६० हजार सेवाग्राहीलाई लघुवित्त सेवा प्रदान गरिरहेको बताए। उनका अनुसार संस्थाको कर्जा लगानी २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने बचत संकलन ६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। साथै संस्थामा करिब ९०० कर्मचारी कार्यरत रहेका छन्।
नवनियुक्त अध्यक्ष सिजापतीले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा निर्देशनहरूको कडाइका साथ कार्यान्वयन गर्दै संस्थालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले संस्थाको समग्र अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै नवनियुक्त अध्यक्ष सिजापतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
आर्थिकन्यूज
प्रतिक्रिया