काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका समस्याहरू समाधान गर्न सरकारसँग नीतिगत सुधारको माग गरेको छ।
आज चैत २५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी अटोमोबाइल क्षेत्रका विविध समस्याबारे छलफल गरेको हो।
भेटका क्रममा अध्यक्ष उप्रेतीले हाल शिथिल अवस्थामा रहेको अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन केही नीतिगत तथा नियमगत परिवर्तन आवश्यक रहेको बताए। उनले यस्तो सुधार भएमा सरकारको राजस्व वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखे।
राजस्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयनयोग्य रहेको उल्लेख गर्दै समस्याहरू समाधानका लागि आफू सकारात्मक रहेको बताए।
छलफलमा नाडाले अटोमोबाइल उद्योगको दीर्घकालीन विकासका लागि कम्पोनेन्ट उद्योग स्थापना आवश्यक रहेको र त्यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ। साथै, कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने सुझाव पनि राखिएको छ। नाडाका प्रतिनिधिहरूले नेपालमै उत्पादन भइरहेका अटोमोबाइल सामग्रीको गुणस्तर मापन गर्ने पर्याप्त सरकारी संयन्त्र नभएको गुनासो पनि गरेका छन्।
यसैगरी, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले ‘लोन टु भ्यालु’ अनुपात बढाउनुपर्ने आवश्यकता औंल्याउँदै यसले सवारी साधनको बिक्री बढाउनुका साथै राजस्व वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने बताए।
नाडाका सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई अझै पनि विलासिताको वस्तुका रूपमा वर्गीकरण गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।
त्यस्तै, महासचिव मिलनबाबु मल्लले विद्युतीय सवारी साधनको पिक पावर मापनसम्बन्धी केही प्राविधिक समस्याहरू रहेको उल्लेख गर्दै त्यसमा सरकारसँग सहकार्य गर्न नाडा तयार रहेको बताए।
उक्त भेटघाटमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया र सचिव मेघरज पौडेललगायतको उपस्थिति रहेको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया