काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा नछाड्ने बताए । ७३औँ सिँचाइ दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिनजस्ता सिँचाइ आयोजनालाई अब अलपत्र नछाड्ने बताएका हुन ।
मन्त्री श्रेष्ठले सुनकोशी–मरिन आयोजनाको पुनःखरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिँदै भेरी–बबई आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको स्पष्ट पारे । उनले गण्डक, नारायणी, वाग्मती, सुनसरी–मोरङजस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनःस्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । “ठूला आयोजना सम्पन्न गर्ने क्रममा वास्तविक अवरोध कहाँ छन्, त्यसको जानकारी दिनुहोस् हामी समाधानको प्रयास गर्नेछौँ”, उनले भने ।
मन्त्री श्रेष्ठले कर्मचारीसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने भएकाले कर्मचारीलाई निर्देशनको पालना गराउने मात्रै होइन आफूले साझेदारी गर्न चाहेको उल्लेख गरे । आगामी दिनमा सिँचाइ खेतमा पानी पु(याउने माध्यमका रूपमा मात्र नहेरेर पानीलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनलाई जोड्ने गरी एकीकृत प्रणालीको व्यवस्था गरिने मन्त्री श्रेष्ठको भनाइ थियो ।
उनले तल्लो तटीय फाइदा, बाढी नियन्त्रण, नदी किनारमा बस्ने समुदायलाई के–कस्ता लाभ पुर्याउन सकिन्छ भन्ने विषयलाई पनि मन्त्रालयको नीतिमा समावेश गरिएको बताए ।
आर्थिकन्यूज
प्रतिक्रिया