शीर्षकहरू

भृकुटी स्टक निलम्बित, ५ अर्बभन्दा बढी दायित्वसँगै दिपक भट्टको कारोबारमा गम्भीर अनियमितता

भृकुटी स्टक निलम्बित, ५ अर्बभन्दा बढी दायित्वसँगै दिपक भट्टको कारोबारमा गम्भीर अनियमितता

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड​​​​​​​ (सेबोन) ले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नम्बर ५५) को सञ्चालन अनुमति तत्कालका लागि निलम्बन गरेको छ। चैत २३ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालनसम्बन्धी अनुमतिपत्र रोक्का गरिएको हो।

बोर्डका अनुसार कम्पनीले ग्राहकको रकम दुरुपयोग गर्दै एक ग्राहकको सेयर खरिद–बिक्री तथा धितो (कोल्याट्रल) वापतको रकम अर्को ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको पाइएको छ। साथै, तोकिएको प्रक्रिया विपरीत कारोबार सञ्चालन, अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद गर्न दिने तथा खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गरिदिने जस्ता गम्भीर कमजोरी फेला परेका छन्।

भृकुटी स्टकमार्फत सेयर कारोबार गरेका व्यवसायी दिपक भट्टको कारोबारमा पनि अनियमितता देखिएको छ। उनले सेयर खरिद गर्दा आफ्नो सिद्धार्थ बैंक खाताबाट भुक्तानी नगरी अन्य कम्पनीहरूको रकम प्रयोग गरिएको पाइएको छ।

भट्टले खरिद गरेको सेयरको भुक्तानीका लागि हिमालयन रि इन्स्योरेन्स बाट २ अर्ब ७३ करोड, यसको सहायक हिमालयन सेक्युरिटिज बाट २२ करोड १९ लाख, नेपाल माइक्रो इन्स्योरेन्स बाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग भएको देखिएको छ।

त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स को सहायक कम्पनीबाट ३७ करोड र एचएलआइ लार्ज क्याप फण्ड बाट २५ करोड १४ लाख रुपैयाँ गरी कुल करिब ३ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी भएको उल्लेख गरिएको छ।

बोर्डका अनुसार यस्ता गतिविधिले सेयर बजारको मूल्यमा अस्वाभाविक प्रभाव पार्ने र पूँजी बजारको विश्वसनीयतामा नकारात्मक असर पर्ने जोखिम बढाएको छ। चैत १२ गतेसम्म कम्पनीले लगानीकर्तालाई तिर्नुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी पुगेको देखिएको छ।

यही कारण देखाउँदै धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको अनुमतिपत्र निलम्बन गरिएको सेबोनले जनाएको छ। निलम्बन अवधिमा कम्पनीलाई लगानीकर्ताको बक्यौता रकम कानुनअनुसार फर्छ्यौट गर्न र आवश्यक परे ग्राहकलाई अन्य ब्रोकरमार्फत कारोबार गर्न सहज व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

यसैबीच व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौं ले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीमाथि गैरकानुनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाउने, छल्ने तथा स्वरूप परिवर्तन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ।

 

प्रतिक्रिया