काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्ष पदमा उद्यमी रामचन्द्र संघई उम्मेदवार बन्ने निश्चित भएको छ। देशभरका उद्यमी–व्यवसायी तथा महासंघका पूर्वअध्यक्षहरूसँगको परामर्शपछि रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।
विगत २२ वर्षदेखि महासंघमा सक्रिय संघई पूर्वउपाध्यक्षसमेत हुन्। उनले रविभक्त श्रेष्ठको कार्यकालदेखि महासंघमा भूमिका निर्वाह गर्दै आएका छन् भने शेखर गोल्छा को कार्यकालमा एशोसिएटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति रहेर काम गरेका थिए।
त्रिवेणी ग्रुप का निर्देशकसमेत रहेका संघईले व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिन लागेको बताएका छन्। त्रिवेणी ग्रुपअन्तर्गत उत्पादन, सेवा र कृषि क्षेत्रमा दर्जनौँ उद्योग सञ्चालनमा छन्, जसमा करिब १८ हजार श्रमिक आबद्ध छन्।
महासंघको ६०औँ वार्षिक साधारणसभा चैत २९ र ३० गते काठमाडौँमा हुने तय भएको छ। सो सभाबाट निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ।
आर्थिकन्यूज
प्रतिक्रिया