काठमाडौं । सरकारले ट्याक्सीको पनि भाडा दर वृद्धि गर्ने तयारी गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीको भाडा वृद्धि गर्ने तयारी गरेको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि भइरहेको छ । यसरी इन्धनको मूल्य वृद्धिलाई ध्यानमा राखेर ट्याक्सीको भाडा वृद्धि गर्न लागिएको मन्त्रालयको एक अधिकारीले बताए । उनका अनुसार भाडा निर्धारण तथा समायोजनका लागि समिति पनि गठन गरिएको छ। सो समितिको सिफारिस अनुसार मुख्यमन्त्रीको सहमतिमा भाडा वृद्धि हुन्छ ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि मूल्य वृद्धि भएको छ । इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा दर वृद्धि गर्न संघीय, प्रदेश मन्त्रालय र निकायहरू समक्ष माग गरिरहेका छन् । सोही अनुसार संघीय सरकारले अन्तर प्रदेश यातायातको भाडा वृद्धि गरिसकेको छ ।
बुधबार यातायात व्यवस्था विभागले अन्त प्रदेश (दुई वा सो भन्दा धेरै प्रदेश भएर गुड्ने सवारी) यातायातको भाडा वृद्धि गरेको थियो । जहाँ अन्त प्रदेश यात्रु वाहाक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको थियो भने पहाडी क्षेत्रमा चल्ने माल वाहक सवारीको भाडा २१.६८ र तराई क्षेत्रमा चल्ने माल वाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको थियो ।
मन्त्रालयका अनुसार अन्तर प्रदेशको भाडा संघीय सरकारको मन्त्रीको सहमतिमा यातायात व्यवस्था विभागले निर्धारण गर्दछ । प्रदेश भित्र चल्ने सवारीको हकमा सोही प्रदेश मन्त्रालयले भाडा निर्धारण गर्दछ । तर, मुख्यमन्त्रीको सहमति आवश्यक पर्दछ ।
महासंघको पत्रले तात्यो मन्त्रालय
संघीय सरकारले अन्तर प्रदेशको भाडा वृद्धि गरेपछि प्रदेशभित्र चल्ने ट्याक्सी सहित अन्य सवारीको पनि भाडा वृद्धि गर्नु माग गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमतीको मन्त्रालयलाई पत्र पठाएको थियो । हिजो बुधबार महासंघले पत्र पठाएको ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले जानकारी दिए ।
उनका अनुसार संघीय सरकारले बढाए अनुपातमा नै प्रदेश भित्र सञ्चालन हुने ट्याक्सी र अन्य सवारीको भाडा वृद्धि गर्न महासंघले प्रदेश मन्त्रालयलाई पठ पठाएको हो । उनले भने, 'हामीले ट्याक्सी सहित प्रदेश भित्र चल्ने भाडाका सवारी साधनाको भाडा दर संघीय सरकारले बढाएको अनुपातमा बढाउन पत्राचार गरेका छौँ ।’
तर, ट्याक्सीको हकमा भने विगतमा समायोजन हुन बाँकी रहेको ६.५० प्रतिशत थप गरेर बढाउन पत्राचार गरिएको उल्लेख छ । अर्थात् ट्याक्सीको हकमा संघीय सरकारले बढाएको भन्दा थप ६.५ प्रतिशत धेरै भाडा बढाउनु पर्ने उनको भनाई छ ।
यसरी महासंघले पत्र पठाएपछि मन्त्रालयले बिहीबार भाडा निर्धारण समिति गठन गरेको हो । समितिको बैठक शुक्रबार बिहान बस्दै छ । सोही बैठकले नयाँ भाडा दर सिफारिस गर्नेछ । तर, कति भाडा बढाउँछ भन्ने विषय भने हाल यकिन नभएको मन्त्रालयले जनाएको छ ।
कति छ ट्याक्सीको भाडा दर
हाल दिनको समयमा ट्याक्सीको चड्न साथ ५० रुपैयाँ लाग्छ । र प्रत्येक किलोमिटरको ६० रुपैयाँ लाग्छ । अर्थात् एक किलोमिरटको लागि ट्याक्सी चड्दा ११० रुपैयाँ लाग्छ । दुई किलोमिटर चड्दा ११० मा ६० रुपैयाँ थपिन्छ । यसैगरी, जति किलोमिटर दुरी पार गर्छ सोही अनुसार ६०/६० रुपैयाँ जोडिँदै जान्छ ।
राति ९ बजेपछिको समयमा प्रति किलोमिटरको ९० रुपैयाँको दरले थप हुँदै जान्छ । सुरुवाती मूल्य भने रातिको समयमा पनि ५० रुपैयाँ नै छ ।
लक्ष्मण लम्साल
प्रतिक्रिया